राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउन आज ‘क्यान्डिडेट क्लब’ टुंग्याउँदैछ ।
रास्वपाका महामन्त्री विपीन आचार्यका अनुसार स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटको आधारभूत प्रारूपअन्तर्गत ‘क्यान्डिडेट क्लब’ टुंग्याउन लागिएको हो । उहाँका अनुसार भदौ १ गतेदेखि उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरिनेछ ।
यही प्रक्रियामार्फत स्थानीय तहका उम्मेदवार छनोटको सुरुआत हुनेछ । उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको ‘क्यान्डिडेट क्लब’ मा औपचारिक रूपमा आवेदन दिनुपर्नेछ ।
के हो ‘क्यान्डिडेट क्लब’?
‘क्यान्डिडेट क्लब’ रास्वपाले उम्मेदवार छनोटका लागि तय गरेको प्रारम्भिक चरण हो। यसमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले सर्वप्रथम पार्टीमा औपचारिक आवेदन दर्ता गर्नुपर्नेछ ।
आवेदनका क्रममा आकांक्षीको व्यक्तिगत पृष्ठभूमि, विज्ञता, अनुभव तथा आधारभूत योग्यतासम्बन्धी विवरण संकलन र परीक्षण गरिनेछ । त्यसपछि पार्टीले निर्धारित प्रक्रियाअनुसार उम्मेदवार छनोटको थप प्रक्रिया अघि बढाउनेछ ।
रास्वपाले स्थानीय तहलाई लक्षित गर्दै दुई तहको ‘क्यान्डिडेट क्लब’ गठन गरेको छ । पहिलो पालिका तह र दोस्रो वडा तह रहेको छ । पालिका तहको ‘क्यान्डिडेट क्लब’ मा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका आकांक्षीले आवेदन दिनुपर्नेछ ।
त्यस्तै वडा तहको ‘क्यान्डिडेट क्लब’ मा वडाध्यक्ष तथा वडा सदस्य पदका आकांक्षीले आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार बन्न इच्छुक व्यक्तिको प्रारम्भिक विवरण संकलन गरी त्यसकै आधारमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने जनाएको छ ।