वर्षौंदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगंज चिनी कारखाना लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठोस प्रक्रिया अघि बढाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार पार्न श्रीकान्त यादवको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको हो । कार्यदलमा मन्त्रालयका शाखा अधिकृत तथा उद्योग विभागका अधिकृत प्रतिनिधि सदस्य रहेका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगन्ज चिनी कारखानाको विगतका निर्णय, यसअघि तयार भएका अध्ययन प्रतिवेदन, वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्थाबारे कार्यदलले अध्ययन गर्नेछ । त्यसैगरी कारखानाको भौतिक संरचना, मेसिनरी, जग्गा तथा सम्पत्तिको अवस्थाका साथै अतिक्रमण भएको भए त्यसको समाधानका विकल्पसमेत कार्यदलले अध्ययन गर्नेछ ।
कार्यदलले कारखानाको समग्र अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे विस्तृत अध्ययन गरी १५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ ।