मानव तस्करीजस्तो गम्भीर तथा संवेदनशील अपराधविरुद्ध प्रभावकारी कारबाही गर्दै पीडित तथा नाबालिगहरूको उद्धारमा उल्लेखनीय योगदान पुर्याएका इन्स्पेक्टर मनोज कुमार शर्मालाई महानिर्देशक पदक (DG Disc) तथा प्रशंसापत्रबाट सम्मान गरिएको छ।
मानव तस्करीविरुद्धको इकाइ (AHTU) मार्फत तस्करीको सञ्जालविरुद्ध निरन्तर प्रभावकारी कारबाहीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शर्मालाई सम्मान गरिएको हो । उनको नेतृत्व तथा निर्देशनमा तस्करको चंगुलमा परेका नेपालका नाबालिग तथा अन्य पीडितलाई उद्धार गरी सुरक्षित जीवनतर्फ फर्काउन उल्लेखनीय काम भएको जनाइएको छ ।
मानव तस्करीविरुद्धको अभियानमा नेपालका नाबालिग तथा वयस्क पीडितलाई सबैभन्दा बढी उद्धार गर्ने अधिकारीका रूपमा समेत शर्मा उल्लेखित छन् । उनको कार्यकुशलता र प्रभावकारी निर्देशनका कारण तस्करीका पीडितलाई सुरक्षित वातावरणमा फर्काउन तथा उनीहरूको भविष्य संरक्षण गर्न महत्वपूर्ण योगदान पुगेको बताइएको छ । मानव तस्करी अपराधी नियन्त्रणमा मात्र सीमित नरही पीडितलाई सुरक्षा, विश्वास र सम्मानको वातावरण उपलब्ध गराउनु पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले शर्माको कार्यले जनसेवा तथा मानव सुरक्षाप्रतिको प्रतिबद्धता बलियो बनाएको बताइएको छ ।
उनको नेतृत्वमा भएका कारबाहीले मानव तस्करीविरुद्धको अभियानलाई प्रभावकारी बनाउनुका साथै सुरक्षा निकायप्रति सर्वसाधारणको विश्वाससमेत बढाएको जनाइएको छ । विशेषगरी बालबालिका तथा जोखिममा रहेका वर्गलाई तस्करीबाट जोगाउने कार्यमा उनको भूमिका उल्लेखनीय रहेको बताइएको छ ।
समारोहमा उपमहानिरीक्षक राकेश कुमारले इन्स्पेक्टर मनोज कुमार शर्मालाई महानिर्देशक पदक तथा प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अधिकारी तथा सहकर्मीहरूले शर्मालाई बधाई दिँदै उनको कार्यको प्रशंसा गरेका थिए । सम्मान प्राप्त गरेपछि इन्स्पेक्टर शर्माले यसलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो टोलीको सामूहिक प्रयास तथा पीडितका लागि गरिएको सेवाको सम्मानका रूपमा लिएको बताउनुभयो । उहाँले वर्दीको वास्तविक सम्मान कुनै आवश्यकतामा परेका व्यक्तिको जीवन सुरक्षित गर्न र पीडितलाई न्याय तथा सम्मान दिलाउन सक्नुमा रहेको बताउनुभयो ।
मानव तस्करीविरुद्धको कार्यका लागि प्राप्त यो सम्मान शर्माको सेवाकालको उपलब्धिमात्र नभई मानव सुरक्षा, बाल संरक्षण तथा जनसेवाप्रतिको समर्पित कार्यशैलीको पहिचानका रूपमा समेत लिइएको छ ।