राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सभामुखको निर्देशनप्रति असन्तुष्टि जनाउँदै मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेकी छन् ।
विदेशमा मृत्यु भएका धादिङका एक युवाको शव नेपाल ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गर्दै आएकी सांसद तामाङले मंगलबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाललाई यस विषयमा प्रश्न गरेकी थिइन् । तर, मन्त्री खनालले तत्काल शव नेपाल ल्याउन कानुनी समस्या रहेको जवाफ दिएपछि तामाङ असन्तुष्ट बनेकी हुन् ।
सरकारको जवाफप्रति असहमति जनाउँदै उनले बैठकमै आक्रोश व्यक्त गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनलाई बस्न आग्रह गरेका थिए। सभामुख अर्यालले सांसद तामाङलाई सभाको मर्यादा कायम राख्नसमेत निर्देशन दिएका थिए ।
तर, सभामुखको आग्रह र निर्देशनलाई बेवास्ता गर्दै तामाङ बैठकबाट बाहिरिएकी हुन्। उनले आफ्नो प्रश्नको गम्भीरतापूर्वक सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन् ।
संसद् जनप्रतिनिधिहरूले सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण थलो भए पनि बैठक सञ्चालनका क्रममा सभामुखको निर्देशन र संसदीय मर्यादा पालना गर्नु सांसदहरूको दायित्व हो। आफ्नो माग वा सरकारको जवाफप्रति असहमति जनाउने अधिकार सांसदलाई भए पनि त्यसलाई संसदीय प्रक्रिया र मर्यादाभित्रै राख्नुपर्ने हुन्छ।
विदेशमा ज्यान गुमाएका नेपाली नागरिकको शव स्वदेश ल्याउने विषय मानवीय संवेदनासँग जोडिएको गम्भीर विषय हो। त्यसैले यस विषयमा सरकारमाथि दबाब सिर्जना गर्नु सांसदको जिम्मेवारी भए पनि सभामुखको निर्देशनपछि बैठक बहिष्कार गर्ने तामाङको शैलीलाई लिएर भने प्रश्न उठेको छ।
सांसद तामाङले आफ्नो मागलाई जोडदार रूपमा उठाएकी भए पनि संसद्को मर्यादा र सभामुखको निर्देशनलाई चुनौती दिँदै बैठक बहिष्कार गर्नु संसदीय अनुशासनको दृष्टिले उचित हो कि होइन भन्ने बहससमेत सुरु भएको छ।
सरकारले कानुनी समस्या देखाउँदै शव तत्काल ल्याउन नसकिने जवाफ दिएको अवस्थामा त्यसको समाधानका लागि सम्बन्धित निकायलाई सक्रिय बनाउनुपर्नेमा संसद्कै बैठकमा असन्तुष्टि जनाउँदै बाहिरिनुले विषयलाई थप विवादित बनाएको देखिन्छ।