नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त नेपाल रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अध्ययन गर्ने क्रममा भक्तपुरमा गोदाम घर सञ्चालनका लागि गरिएको जग्गा खरिदमा अनियमितता भएको खुलेपछि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार नेपाल रेडक्रस सोसाइटीले २०७३ भदौ २२ गते प्रकाशित सूचनाअनुसार भक्तपुर वडा नम्बर ४(क) स्थित कित्ता नम्बर ८६३, ४९६, ४९७ र ५८१ को ५–१३–३–० क्षेत्रफल जग्गा खरिद गरेको थियो ।
बोलपत्रमा उल्लेखित सर्तविपरीत मध्यस्थकर्ता अर्थात् बिचौलियामार्फत जग्गा खरिद गरी ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । उक्त रकममध्ये एक करोड ९३ लाख ७५० रुपैयाँ मात्र मध्यस्थकर्तामार्फत गएको पाइएको ब्युरोले जनाएको छ ।
पछि नापी कार्यालय भक्तपुरबाट जग्गाको वास्तविक क्षेत्रफल यकिन गराउँदा फिल्डमा ५–६–२–१ क्षेत्रफल मात्र रहेको पाइएको सीआईबीले जनाएको छ । बोलपत्रका सर्त बेवास्ता गरी तत्कालीन पदाधिकारी तथा कर्मचारीले मध्यस्थकर्तामार्फत जग्गा खरिद गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।
भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पाँच जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुन्द्रटार–६ स्थायी ठेगाना भई काठमाडौं–२६ बस्दै आएका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी ठेगाना भई भक्तपुर मध्यपुरथिमी–१ बस्दै आएका ७० वर्षीय संजीव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी रहेका छन् ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको भूमिका तथा जग्गा खरिद प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
