अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
मंगलबार बसेको मोर्चाको बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । मोर्चाका प्रवक्ता डा. चन्द्रकान्त राउतद्वारा जारी विज्ञप्तिमा संसदीय मर्यादा कायम राख्न तथा असंसदीय गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको ।
यस्तै, लुम्बिनी प्रदेशसभामा संसदीय व्यवस्थाका मूल्य, मान्यता र पार्टीको निर्णयविपरीत प्रदेशसभा सदस्यहरूलाई मन्त्री पदको शपथ गराइएको भन्दै मोर्चाले आपत्ति जनाएको छ । मोर्चाले विज्ञप्तिमार्फत उक्त कार्यको घोर भर्त्सना र निन्दा गरेको छ ।
जसपा नेपालको निर्णय र निर्देशनविपरीत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्मिलित नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकारले जसपाका प्रदेशसभा सदस्यहरूलाई मन्त्री पदको शपथ गराएको मोर्चाको आरोप छ । उक्त निर्णय तत्काल सच्याउन पनि मोर्चाले माग गरेको छ ।
त्यसैगरी, भदौ १ गते जसपाका सांसदहरूलाई समेत सरकारको पक्षमा मतदान गराइएको विषयलाई मोर्चाले संसदीय व्यवस्था तथा लोकतान्त्रिक प्रणालीको मान्यताविपरीत र अनैतिक भएको ठहर गरेको छ । मोर्चाले उक्त कार्यलाई असंसदीय भन्दै तत्काल सच्याउन आग्रह गरेको छ ।