बारा जिल्लाका एक युवक भारतको बिहारस्थित सुगौलीमा ७५० ग्राम गाँजासहित पक्राउ परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१ निवासी राजन मुखियालाई भारतीय प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो।
सुगौली थानाका प्रभारी अनिश कुमार सिंहका अनुसार विशेष सुराकीका आधारमा लागुऔषधविरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा मंगलबार मुखियालाई पक्राउ गरिएको हो । प्रहरीले बरामद गाँजा नियन्त्रणमा लिई पक्राउ परेका मुखियामाथि कानुनी कारबाही तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध ओसारपसार हुने क्रम बढ्नु सुरक्षा चुनौतीका रूपमा देखिएको छ ।