मोबाइलको कभर र सिसा फेरेबापत ३५० रुपैयाँ भुक्तानी गरेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) तुल पुडासैनीले १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार जितेका छन् ।
आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपहार घोषणा गरिएको थियो । साउन महिनाको दोस्रो १६ दिनमा दैनिक एक–एक जना गरी १६ जना र सबै सहभागीमध्येबाट थप एक जनालाई बम्पर उपहारका लागि छनोट गरिएको थियो।
त्यसमध्ये बम्पर उपहार पुडासैनीले जितेका हुन्। उनले हेटौँडास्थित गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा मोबाइलको कभर र सिसा फेर्दा गरेको ३५० रुपैयाँको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो। पुडासैनी बागमती प्रदेश प्रहरी गण, हेटौँडामा प्रहरी नायब निरीक्षक पदमा कार्यरत छन्। उनको स्थायी घर बाराको सिमरा हो। अर्थ मन्त्रालयसँग कुरा गर्दै पुडासैनीले मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसल चहारेपछि गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको बताए।
‘मोबाइलको कभर र सिसा मर्मत गर्न दुई–तीनवटा पसल चहारेँ। गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ। त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ,’ उनले भने, ‘एकदमै खुसी लागेको छ। सबैतिरबाट बधाई आइरहेको छ।’
उनले आफूले पाएको पुरस्कारले बिल लिने र दिने संस्कारको महत्व झनै बढाएको बताए। ‘सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ,’ उनले भने।
पुडासैनीले सकेसम्म अनलाइनमार्फत कारोबार गर्न तथा हरेक कारोबारमा बिल लिन र दिन पनि आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले कर प्रणालीमा नागरिकको सहभागिता बढाउने तथा बिल लिने–दिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।