आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भनिएको प्रतिनिधिसभाको बैठक विशेष कारण देखाउँदै स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले बैठक स्थगित भएको जानकारी दिएको हो ।
स्थगित बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । त्यस्तै, मन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत तय गरिएको थियो ।
बैठक स्थगित भएपछि उक्त कार्यसूची प्रभावित भएको छ ।
यसैबीच, भोलि बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । सांसदहरूले सरकारका कामकारबाही तथा समसामयिक विषयमा उठाएका प्रश्नको प्रधानमन्त्री साहले सदनमा जवाफ दिने भएका हुन् ।
भोलिको बैठकमा प्रधानमन्त्रीको जवाफसँगै अन्य संसदीय कार्यसूचीसमेत अघि बढाइने जनाइएको छ ।