स्वास्थ्य मानव जीवनको आधारभूत आवश्यकतासँगै बाँच्न पाउने मौलिक हकसँग प्रत्यक्ष जोडिएको विषय हो ।
राज्यले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराउनुपर्ने भए पनि नेपालमा क्यान्सर उपचारका लागि आवश्यक अत्यावश्यक औषधिको अभाव र चर्को मूल्यवृद्धिले बिरामी तथा उनका परिवार थप मारमा परेका छन् । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका फार्मेसीमा कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनजस्ता अत्यावश्यक किमोथेरापी औषधि लामो समयदेखि अभाव रहेको बताइएको छ। सरकारी मूल्यमा औषधि उपलब्ध हुन नसकेपछि बिरामीका आफन्त निजी बजारबाट महँगो मूल्य तिरेर औषधि खरिद गर्न बाध्य छन् ।
कुनै समय १ हजार ३ सय रुपैयाँमा पाइने १५० एमजीको कार्बोप्लाटिनका लागि १५ हजार रुपैयाँसम्म तिर्नुपरेको घटनाले औषधिको मूल्यमा देखिएको अस्वाभाविक वृद्धि उजागर गरेको छ । औषधि आपूर्तिकर्ताहरूका अनुसार पश्चिम एसियाको युद्धलगायत अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चा पदार्थको मूल्य बढेको छ। सरकारले वर्षौंअघि निर्धारण गरेको औषधिको मूल्य समायोजन नगर्दा पुरानै मूल्यमा औषधि आपूर्ति गर्न कठिन भएको उनीहरूको भनाइ छ।
समस्या समाधानका लागि औषधि व्यवस्था विभागले औषधिको मूल्य समायोजन गर्ने तयारी गरिरहेको जनाएको छ । विभागकी सूचना अधिकारी सचिता जोशीका अनुसार औषधि सल्लाहकार समितिको बैठकबाट मूल्य समायोजनसम्बन्धी प्रस्तावलाई अन्तिम रूप दिने काम भइरहेको छ । उनका अनुसार पुरानो मूल्यमा औषधि आपूर्ति हुन नसक्ने अवस्था र मूल्य समायोजन गर्दा ध्यान दिनुपर्ने विभिन्न पक्षका कारण प्रक्रिया केही ढिला भएको हो ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले तीन महिनाअघिको तुलनामा अवस्था केही सुधार भए पनि सरकारी मूल्यमा औषधि सहज रूपमा उपलब्ध हुन नसकेको बताएका छन्। उनका अनुसार समयमै औषधिको मूल्य समायोजन भएको भए बिरामीले महँगो मूल्य तिर्नुपर्ने अवस्था कम हुन सक्थ्यो ।
क्यान्सरजस्तो गम्भीर रोगको उपचार आफैंमा महँगो हुने भएकाले औषधि अभाव र मूल्यवृद्धिले आर्थिक रूपमा कमजोर परिवारलाई थप समस्यामा पारेको छ । स्वास्थ्य बीमा भएका बिरामीले समेत सरकारी अस्पतालमा उपचार गराउँदा आवश्यक औषधि बाहिरबाट आफ्नै खर्चमा खरिद गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।
नेपालमा क्यान्सर उपचारका लागि आवश्यक धेरै औषधि स्वदेशमै उत्पादन नहुने र आयातमा निर्भर रहनुपर्ने अवस्थाले समस्या थप जटिल बनाएको छ । महँगो प्रविधि र उत्पादन लागतका कारण किमोथेरापीमा प्रयोग हुने औषधि उत्पादनमा स्वदेशी औषधि उद्योगको रुचि कम रहेको उत्पादकहरू बताउँछन्।
औषधिको अभावका कारण चिकित्सकले सिफारिस गरेको उपचार पद्धति पूरा गर्न नसक्ने अवस्था सिर्जना हुनु गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ । त्यसमाथि होलोग्राम नभएका, सिल तोडिएका वा लेबल च्यातिएका औषधिसमेत बिरामीका आफन्तले खरिद गरेर ल्याउने गरेको स्वास्थ्यकर्मीको भनाइले औषधिको गुणस्तर र सुरक्षामाथि समेत प्रश्न उठाएको छ ।
ग्लोबल क्यान्सर अब्जर्भेटरीको अनुमानअनुसार नेपालमा हरेक वर्ष २२ हजारभन्दा बढी नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् भने करिब १४ हजार जनाको मृत्यु हुने गरेको छ । अनुमानित ६० प्रतिशत क्यान्सर बिरामीले किमोथेरापी गराउने गरेको चिकित्सकहरू बताउँछन् ।
क्यान्सरका बिरामीको संख्या बढ्दै गएको अवस्थामा अत्यावश्यक औषधिको नियमित आपूर्ति, उचित मूल्य निर्धारण र गुणस्तरीय उपचार सुनिश्चित गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।