प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिनुहुने भएको छ ।
प्रतिनिधिसभा नियमावलीमा रहेको व्यवस्थाअनुसार प्रधानमन्त्री शाह पहिलोपटक नियमित प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ मा प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री संसदमा उपस्थित भई सांसदहरूले दर्ता गराएका लिखित प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिन लाग्नुभएको हो ।
यसअघि जेठ १७ गते प्रधानमन्त्री शाह सांसदका प्रश्नको जवाफ दिन अचानक संसद् पुग्नुभएको थियो । त्यसयता नियमित रूपमा संसद्मा उपस्थित भएर प्रश्नोत्तरमा सहभागी नभएपछि सभामुख डीपी अर्यालले भदौ १ गतेको बैठकबाट प्रधानमन्त्रीलाई आजको बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्नुभएको थियो ।
आजको प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका गरी ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् ।
सांसदहरूले मुख्यतः जेठ १७ गते संसद्मा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिको स्पष्टता, सरकारको तीनमहिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन, विकास निर्माण तथा संसद्प्रति सरकारको जवाफदेहितालगायत विषयमा प्रश्न दर्ता गराएका छन् ।
यसैबीच, प्रधानमन्त्री शाहले चिकित्सकको सल्लाहअनुसार आज संसद्मा कालो चस्मा लगाएर उपस्थित हुने जानकारी संसद् सचिवालयलाई गराउनुभएको छ । वीरेन्द्र सैनिक अस्पतालका नेत्ररोग विशेषज्ञले उज्यालोमा देख्न कठिनाइ हुने समस्या देखिएपछि प्रधानमन्त्रीलाई सनग्लास र आई ड्रप प्रयोग गर्न सुझाव दिएको बताइएको छ ।
संसद्मा मर्यादा र पोसाकसम्बन्धी बहस चलिरहेका बेला प्रधानमन्त्री शाहले चिकित्सकको सिफारिससहितको पत्र संसद् सचिवालयमा पठाउनुभएको हो ।
आजको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई प्रधानमन्त्री शाहको सरकार सञ्चालन, सुशासन, बजेट कार्यान्वयन तथा संसद्प्रतिको जवाफदेहिताबारे सांसदहरूले प्रत्यक्ष प्रश्न उठाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।