विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रभावित क्षेत्रमा २४ वर्गमिटर क्षेत्रफलका १५ वटा आपतकालीन टेन्टसमेत पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको छ । बाढीमा घाइते भएका तीन जनालाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, आपतकालीन स्वास्थ्य सेवा व्यवस्थापनका लागि काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स तथा नेपाल स्काउटसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।