नेपाली कांग्रेसले भोटेकोशीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न पार्टीको आकस्मिक बैठक बोलाएको छ।
पार्टी सभापति गगन थापाले बाढीपछि पार्टीको भूमिका तथा उद्धार र राहतमा पार्टीपंक्तिलाई थप सक्रिय बनाउने विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो।
सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
भोटेकोशी बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि सभापति थापाले बाढीलगत्तै पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार तथा राहतमा केन्द्रित हुन निर्देशन दिनुभएको थियो।
आकस्मिक बैठकमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतमा पार्टीले खेल्नुपर्ने भूमिका र प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउने विषयमा छलफल हुने बताइएको छ।