जितपुर सिमरा उपमहानगरपालिका–६ सिदरिया टोलबाट हराएकी ११ वर्षीया बालिका सनाया खातुन वीरगन्जस्थित एक बालगृहमा सकुशल फेला परेकी छन्।
गुलाब्सा खातुनकी छोरी सनाया गत जेठ १७ गते परिवारलाई जानकारी नदिई घरबाट निस्किएपछि आफन्त तथा छरछिमेकमा खोजी गरिएको थियो। लामो समयसम्म बालिका फेला नपरेपछि उनकी आमाले मंगलबार इलाका प्रहरी कार्यालय सिमरामा फोटोसहितको हुलियासहित खोजीका लागि निवेदन दिएकी थिइन्।
निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा इलाका प्रहरी कार्यालय सिमराको टोलीले बालिकाको खोजी सुरु गरेको थियो।
खोजीका क्रममा सुरक्षा टोलीले बालिकाको घरमा पुगेर उनकी आमा तथा स्थानीय जनप्रतिनिधिसँग भेट गरी आवश्यक सोधपुछ गरेको थियो। त्यस क्रममा बालिका वीरगन्जस्थित एक बालगृहमा सुरक्षित रहेको जानकारी प्राप्त भएको हो।
त्यसपछि प्रमुख जिल्ला अधिकारी मिश्राको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोली तथा बालिकाकी आमा बालगृहमा पुगेर सनायासँग भेट गरेका थिए। बालिका सकुशल रहेको र आमाको सहमतिमा उक्त बालगृहमा बस्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सनाया यसअघि पनि दुईपटक हराएकी थिइन्। फागुनमा हराउँदा इलाका प्रहरी कार्यालय सिमराले खोजी गरी उनलाई फेला पारेको थियो। यस्तै, वैशाखमा पुनः हराएपछि जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले खोजी गरी फेला पारेको थियो। त्यसपछि उनलाई आमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
बाराका सुरक्षा निकायले बालिकाको अवस्थाबारे आवश्यक बुझाइ तथा सोधपुछ गरी उनी सुरक्षित रहेको पुष्टि गरेको जनाएको छ।