नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहित दुई जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरसम्म पुगेका थिए । नेपाल प्रहरीसँग पूर्वसमन्वय तथा अनुमति नलिई नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई पक्राउ गर्न खोजेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले दुवै भारतीय प्रहरीलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरे । उनका अनुसार घटनाबारे माथिल्लो निकायलाई जानकारी गराइएको छ । माथिल्लो निकायबाट प्राप्त हुने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीसँग समन्वय तथा पूर्वजानकारीबिना नेपाली भूमिमा प्रवेश गर्नेमा कर्नाटक प्रहरीका असई सतिश एमआर र प्रहरी जवान अल्फाब आरएस रहेका छन् ।