विपद्को कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वीरगंजस्थित नवदीप एकेडेमीले बाढीपीडितको राहत तथा उद्धारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विद्यालय परिवारले विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन पक्षको सहभागितामा उक्त रकम संकलन गरेको हो । विद्यालयका अनुसार विद्यार्थीबाट १५ हजार रुपैयाँ तथा शिक्षक र व्यवस्थापन पक्षबाट ३५ हजार रुपैयाँ गरी कुल ५० हजार रुपैयाँ संकलन गरिएको हो ।
विद्यालयले संकलन गरेको सहयोग रकम प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीलाई हस्तान्तरण गरिएको छ । अध्यक्ष चौधरीमार्फत उक्त रकम बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा प्रयोग गरिने जनाइएको छ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यालयकी डाइरेक्टर तथा प्याब्सन पर्साकी वरिष्ठ उपाध्यक्ष सुशीला साहले विपद्को समयमा पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले विद्यालय परिवारको सामूहिक सहभागितामा सहयोग रकम संकलन गरिएको बताइन् ।
उनले विपद्को समयमा पीडितहरूको पीडामा साथ दिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएको उल्लेख गर्दै विद्यालयले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताइन् । विद्यालयले आगामी दिनमा पनि मानवीय सेवाका कार्यमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरूको उपस्थिति थियो ।
विपद्को कठिन घडीमा राहत तथा उद्धारका लागि गरिएको सहयोगले मानवीय भावना, सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यको सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ ।
विद्यालय परिवारले ‘मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो’ भन्ने भावनाका साथ विपद्मा परेका नागरिकलाई सहयोग गर्न सबैलाई आह्वानसमेत गरेको छ ।