भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न तयारी अवस्थामा राखिएका राहत सामग्रीमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेका छन्। बाढीपीडितलाई सहयोगस्वरूप पठाउन लागिएका चामल, आटा, भुजा, चिप्सलगायतका खाद्य सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिएपछि वितरणमा रोक लगाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौंस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले काठमाडौंका विभिन्न पाँच स्थानमा गरेको आकस्मिक अनुगमनका क्रममा राहत सामग्रीमा गम्भीर लापरबाही भेटिएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार गरिएको अनुगमनका क्रममा सरकारी कार्यालयदेखि प्रहरी तालिम केन्द्र तथा अन्य राहत भण्डारणस्थलमा राखिएका खाद्य सामग्रीको गुणस्तर र उपभोग्य मिति जाँच गरिएको थियो ।
अनुगमनका क्रममा बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा राहतका लागि प्याकिङ गर्न राखिएका ‘करेन्ट चिप्स’ र ‘भुजा’ म्याद गुज्रिएको अवस्थामा फेला परेका छन्। यशोदा फुड्स प्रालि, रुपन्देहीको ३० थान ‘करेन्ट चिप्स’ तथा गिरिधारी फुड प्रडक्ट, बुटवलको २१ बोरा भुजालाई वितरण गर्न रोक लगाइएको विभागले जनाएको छ।
म्याद गुज्रिएका ती सामग्रीलाई छुट्टै ‘एक्स्पायर्ड जोन’मा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
त्यस्तै, सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा भण्डारण गरिएका राहत सामग्रीमध्ये १८ पिस ‘चोकोफन’ र पाँच किलोको एक प्याकेट चक्की आटा पनि म्याद गुज्रिएको अवस्थामा भेटिएको छ ।
सोही स्थानमा राखिएका ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन दुई दिन मात्रै बाँकी रहेको पाइएको थियो। उक्त सामग्रीलाई समेत तत्काल वितरण नगर्न निर्देशन दिँदै छुट्टै राखिएको विभागले जनाएको छ।
राधा स्वामी सत्सङ, सामाखुसीमा गरिएको अनुगमनका क्रममा २५ किलोको एक बोरा ‘जयश्री उसिना चामल’ पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको छ ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार राहत संकलन तथा प्याकेजिङ भइरहेका स्थानमा म्याद गुज्रिएका खाद्य सामग्री अन्य सामग्रीसँगै वितरणका लागि तयार अवस्थामा राखिएको भेटिएको थियो ।
विपद्को समयमा राहतका रूपमा वितरण गरिने खाद्य सामग्री नै असुरक्षित भएमा बाढीपीडितको स्वास्थ्यमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले त्यस्ता सामग्रीको वितरणमा कडाइ गरिएको विभागले जनाएको छ ।