पर्सा प्रहरीले वीरगन्जबाट भन्सार छली गरी ओसारपसार गर्न लागिएको ११ लाख रुपैयाँभन्दा बढी मूल्यका लत्ताकपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१६, इनर्वागाउँ क्षेत्रबाट प्रहरीले भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा लिएको हो। सीमावर्ती क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाउने क्रममा उक्त सामग्री फेला पारेको जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार बरामद लत्ताकपडाको कुल मूल्य ११ लाख २ हजार १ सय ४० रुपैयाँ रहेको छ ।
प्रहरीले बरामद सामग्री आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।