जापानको नागोयामा आयोजना हुने २०औँ एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आफ्नो पहिलो खेल आयोजक जापानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ।
एसियन गेम्सको औपचारिक उद्घाटन सेप्टेम्बर १९ अर्थात् असोज ३ गते हुने भए पनि केही खेलका प्रतिस्पर्धा भने यसअघि नै सुरु भइसकेका छन्। महिला भलिबलको प्रतिस्पर्धा सेप्टेम्बर १६ बाट सुरु हुँदैछ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमै एसियाको बलियो टोली जापानको सामना गर्नेछ। नेपालले समूह चरणको दोस्रो खेल सेप्टेम्बर १७ मा इन्डोनेसियासँग खेल्ने तालिका छ।
नेपालबाट यसपटक एसियन गेम्समा २१ खेलमा सहभागिता रहनेछ। भलिबलतर्फ भने महिला टोलीले मात्र प्रतिस्पर्धा गर्दैछ।
विश्व वरियतामा जापान छैटौँ, इन्डोनेसिया ५३औँ र नेपाल ६९औँ स्थानमा छन्। एसियाली वरियतामा जापान पहिलो, इन्डोनेसिया नवौँ र नेपाल ११औँ स्थानमा रहेको छ ।
नेपालको महिला भलिबल टोली लगातार दोस्रो पटक एसियन गेम्समा सहभागी हुन लागेको हो। यसअघि सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औँ एसियन गेम्समा नेपाल महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएका थिए। महिला टोली त्यतिबेला ११औँ स्थानमा रहेको थियो । यसपटक नेपालले अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राखेको छ। लामो समयदेखि तयारी गरिरहेको नेपाली टोलीमा नयाँ र अनुभवी खेलाडीको मिश्रण रहेको छ।
निरुता ठगुन्नाको कप्तानीमा रहेको १२ सदस्यीय टोलीले नागोयामा पुगेर प्रतियोगिताअघि प्रशिक्षणसमेत गरेको छ। टोलीमा यसअघि एसियन गेम्स खेलेका निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ अनुभवी खेलाडीका रूपमा छन् ।
मुख्य प्रशिक्षक जगदिश भट्टले लामो समयको तयारीले टोलीमा सुधार आएको र अघिल्लो संस्करणभन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको बताएका छन्। उनका अनुसार एसियन गेम्समा राम्रो प्रदर्शन गर्न सके त्यसले नेपाली महिला भलिबलको आगामी यात्रालाई समेत सकारात्मक प्रभाव पार्न सक्छ। कप्तान निरुताले पनि लामो प्रशिक्षणपछि सिनियर र जुनियर खेलाडीबीचको संयोजन राम्रो बन्दै गएको बताएकी छन् ।
नेपालले पहिलो खेल जापानविरुद्ध खेलेपछि दोस्रो खेलमा इन्डोनेसियाको सामना गर्नेछ । समूह चरणमा प्राप्त नतिजाका आधारमा नेपालको आगामी चरणको यात्रा तय हुनेछ ।
जापानजस्तो बलियो टोलीसँगको खेल नेपाली खेलाडीका लागि उच्चस्तरीय अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसरसमेत हुनेछ। त्यसपछि इन्डोनेसियाविरुद्धको खेलमा राम्रो नतिजा निकाल्दै समूह चरण पार गर्ने नेपालको लक्ष्य रहेको छ।