पर्यटन प्रवर्द्धनसँगै पर्यटकको सुरक्षा र सहजीकरणलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले क्यूआर कोडसहितको पर्यटनसम्बन्धी अनलाइन साइट सञ्चालनमा ल्याएको छ ।
पर्सा जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलको आवश्यक जानकारीलाई एउटै डिजिटल प्लेटफर्ममा समेटेर साइट तयार गरिएको प्रहरीले जनाएको छ ।
साइटमार्फत पर्यटकले सम्बन्धित गन्तव्यसम्म पुग्न लाग्ने अनुमानित समय, वीरगंजबाटको दूरी, सडक तथा यातायातको अवस्थालगायतका जानकारी प्राप्त गर्न सक्नेछन्। साथै, खाना तथा नास्ताका लागि उपलब्ध होटल तथा रेस्टुरेन्ट र बसोबासका लागि होटल तथा रिसोर्टको विवरणसमेत राखिएको छ ।
पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित पर्यटकीय स्थलको नजिक रहेको प्रहरी कार्यालय, सम्पर्क नम्बर र अस्पतालको विवरण पनि साइटमा समावेश गरिएको छ।
त्यस्तै, पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज होस् भनेर सम्बन्धित स्थानको गुगल नक्साको लिंकसमेत उपलब्ध गराइएको छ। क्यूआर कोड स्क्यान गरेपछि मोबाइलबाटै यी जानकारी सहज रूपमा हेर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तव्य छनोटदेखि यात्रा, सुरक्षा, आवास तथा आकस्मिक अवस्थामा आवश्यक सेवा प्राप्त गर्न सहज बनाउने उद्देश्यले डिजिटल साइट विकास गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले यो पहलले पर्साका पर्यटकीय तथा ऐतिहासिक स्थलको प्रचारप्रसारसँगै पर्यटकलाई सुरक्षित र व्यवस्थित रूपमा भ्रमण गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।