निजगढमा होटलमा खाना खाने क्रममा भएको विवादपछि दुई ग्राहक घाइते भएको घटनामा प्रहरीले होटल सञ्चालकमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी पक्राउ गरे पनि सोही राति उनलाई जिम्मा लगाएर छाडेको छ ।
निजगढस्थित एक लाइन होटलका सञ्चालक विनोद घिसिङले मंगलबार राति खाना खान पुगेका दुई ग्राहकलाई कुटपिट गरेको आरोप लागेको छ। घटनामा पदमकुमार तिमल्सिनाको मुख, नाक तथा अनुहारमा चोट लागेको र रामु नामले चिनिने अर्का चालकको टाउकोमा चोट लागेको पीडित पक्षको दाबी छ । घटनापछि बुधबार तिमल्सिनाको तर्फबाट इलाका प्रहरी कार्यालय निजगढमा अभद्र व्यवहारसम्बन्धी निवेदन दर्ता गरिएको थियो। निवेदनपछि प्रहरीले होटल सञ्चालक घिसिङलाई नियन्त्रणमा लिएको थियो।
तर पक्राउ परेको केही समयमै घिसिङलाई प्रहरीले जिम्मा लगाएर छाडेको पीडित पक्षले जनाएको छ। आरोपीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई छाडिएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको पुष्टि गर्दै पक्राउ परेका घिसिङको स्वास्थ्य अवस्था असहज भएपछि सरकारी वकिल कार्यालयको सल्लाहअनुसार जिम्मा लगाएर छाडिएको बताए । उनका अनुसार अनुसन्धान भने रोकिएको छैन। आवश्यक देखिएमा आरोपीलाई पुनः पक्राउ गरेर थप अनुसन्धान अघि बढाउन सकिने प्रहरी निरीक्षक अधिकारीले बताए।
आरोपीलाई पक्राउ गरेपछि तत्कालै छाडिएको विषयमा भने पीडित पक्षले असन्तुष्टि जनाएको छ। दुई जना घाइते भएको घटनामा पक्राउ परेका व्यक्तिलाई हिरासतमा नराखी जिम्मा लगाएर छाडिनु उचित नभएको उनीहरूको भनाइ छ ।
यसैबीच, एक स्रोतले घिसिङ नेकपा एमाले निकट केन्द्रीय सदस्य रहेको र पक्राउपछि राजनीतिक तथा व्यवसायिक क्षेत्रबाट प्रहरीमाथि दबाब परेको दाबी गरेको छ। तर यस्तो दबाबका कारण उनलाई छाडिएको पुष्टि प्रहरीले गरेको छैन। प्रहरीले स्वास्थ्य अवस्थालाई नै तत्काल रिहाइको कारणका रूपमा उल्लेख गरेको छ । घटनामा घाइतेहरूको मेडिकल रिपोर्ट, घटनाको वास्तविक कारण तथा कुटपिटमा संलग्न व्यक्तिको भूमिकालगायतका विषय अनुसन्धानपछि थप स्पष्ट हुने देखिन्छ ।
अब प्रहरीले घटनाको अनुसन्धान कसरी अघि बढाउँछ, घाइतेहरूको मेडिकल रिपोर्टका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्छ कि बढ्दैन र आरोपीलाई पुनः पक्राउ गरिन्छ वा गरिँदैन भन्ने विषयमा चासो बढेको छ।