सागरनाथ वन विकास परियोजनाको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा रोयल्टी नतिरी राजस्व चुहावट गरेको मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानका क्रममा दिएको बयानभन्दा फरक तथा प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेपछि उनीविरुद्ध समेत मुद्दा चलाइएको हो ।
यसअघि राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धानमा सहयोग गरेको भन्दै आचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिइएको थियो। त्यसक्रममा उनलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा अदालतमा पेस गरिएको थियो । तर, गत भदौ १० गते विशेष अदालतमा बकपत्र गर्दा उनले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको विपरीत हुने गरी बयान दिएको अख्तियारको आरोप छ ।
अख्तियारका अनुसार अनुसन्धानबाट आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुनले तोकेको मूल्यभन्दा कममा नदीजन्य पदार्थ खरिद गर्ने सम्झौता गरेको देखिएको छ। सागरनाथ वन विकास परियोजनाको क्षेत्रमा रोयल्टी दाखिला नगरी वन पैदावार उत्खनन गरी राजस्व चुहावट गर्ने कार्यमा संलग्न मुख्य कसुरदारलाई सहयोग गरेको र त्यसबाट गैरकानुनी लाभ लिने–दिने कार्यमा मतियारको भूमिका निर्वाह गरेको आयोगको दाबी छ।
रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग सम्झौता गरी खरिद गरेको ३ हजार घनमिटर नदीजन्य पदार्थको सम्बन्धमा ९ लाख ५३ हजार ४९६ रुपैयाँ ९० पैसा बिगो कायम गरिएको अख्तियारले जनाएको छ। आयोगले आचार्यलाई मुख्य कसुरदारसरह सजाय हुनुपर्ने मागदाबी गरेको छ। आरोपपत्रमा बिगो जफत गर्नुका साथै चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना र कानुनबमोजिम कैद सजाय माग गरिएको छ।
अब मुद्दामाथि विशेष अदालतबाट हुने सुनुवाइ र प्रमाणको मूल्यांकनपछि आरोप पुष्टि भए \नभएको टुंगो लाग्नेछ ।