अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत डिल्लीबहादुर वलीलाई पक्राउ गरेको छ ।
वली काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत नम्बर ३ नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत हुन् ।
अख्तियारका अनुसार छुट जग्गा दर्ताका लागि सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने क्रममा अनावश्यक दुःख तथा हैरानी दिई घुस मागेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियारको टोलीले अनुसन्धान अघि बढाएको हो ।
वलीलाई घुसबापतको ९ लाख रुपैयाँ लिइसकेको अवस्थामा बुधबार काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
अख्तियारले वलीविरुद्ध घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। बिहीबार विशेष अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।