विस्तारको क्रममा रहेको वीरगन्जको मुख्य सडकलाई ताररहित बनाउने योजना अघि बढाइएको छ। सडक विस्तारसँगै विद्युत्, टेलिकम, केबल तथा खानेपानीका आवश्यक पूर्वाधार भूमिगत गर्ने तयारी गरिएको हो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन डीपीआर लाई अन्तिम रूप दिँदा भूमिगत पूर्वाधारसमेत समेटेर एकीकृत डिजाइन तथा इस्टिमेट तयार गर्न सडक डिभिजन कार्यालय हेटौंडालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाका अनुसार यसअघि तयार गरिएको डीपीआरमै खानेपानी, विद्युत् र केबल नेटवर्कलाई भूमिगत गर्ने व्यवस्था समेटिएको थियो। सोही व्यवस्थाअनुसार सडक विस्तारसँगै सबै आवश्यक पूर्वाधारलाई एकीकृत रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको हो ।
सडक निर्माणपछि विद्युत्, टेलिकम वा केबलका लागि पटक–पटक सडक खन्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले पूर्वाधार भूमिगत गर्न लागिएको महानगरले जनाएको छ। भूमिगत व्यवस्थापनले मुख्य सडकको सौन्दर्य कायम गर्नुका साथै आवागमन, सुरक्षा र पूर्वाधार सञ्चालनमा समेत सहजता हुने अपेक्षा गरिएको छ ।
बैठकले सडक विस्तारका क्रममा मुख्य सडक सीमाभित्र रहेका खानेपानी, विद्युत्, टेलिकमलगायत निकायका संरचना व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
त्यस्तै, संरचना हटाउने तथा निर्माणका क्रममा सडक र नाला क्षेत्रमा फोहोर तथा निर्माण सामग्री थुप्रिँदा केही स्थानमा नाला अवरुद्ध भएको भन्दै तत्काल सरसफाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।