हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त सूचनाका आधारमा प्रहरी परिसर काठमाडौंसँगको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगन्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महतो रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूमाथि करिब एक महिनादेखि सूक्ष्म रूपमा अनुसन्धान भइरहेको थियो। सोही क्रममा बिहीबार काठमाडौंको अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पक्राउ परेकाहरूले रेष्टुरेन्टको दोस्रो र तेस्रो तलाका क्याबिनलाई कारोबारका लागि प्रयोग गर्ने गरेको प्रारम्भिक रूपमा खुलेको छ ।
प्रहरीका अनुसार उनीहरूले विदेशी मुद्राको कारोबार तथा विदेशमा रकम पठाउने कार्यमा संलग्न रहेको आशंका गरिएको छ। विभिन्न व्यक्तिका नागरिकता तथा बैंक खाता खोल्न आवश्यक कागजात प्रयोग गरी बैंक खाता सञ्चालन गर्ने र ती खातामार्फत विदेशमा रकम पठाउने गरेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको कारोबारमा वैदेशिक मुद्रा तथा नेपाली रुपैयाँको अस्वाभाविक विनिमय हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ। यसबारे थप आर्थिक कारोबार, बैंक खाता तथा रकमको स्रोतसम्बन्धी विवरण संकलन भइरहेको छ ।
अनुसन्धानका क्रममा केही राजनीतिक तथा उच्चपदस्थ व्यक्तिको संरक्षण रहेको भनिएका विषयसमेत आएको प्रहरी स्रोतले जनाएको छ। यद्यपि यस विषयमा थप अनुसन्धानपछि मात्रै वास्तविकता पुष्टि हुने प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको आर्थिक कारोबार र सम्पत्तिको स्रोतसमेत अनुसन्धानको दायरामा ल्याइने भएको छ। प्रहरीले हुण्डी कारोबारसँग सम्बन्धित देखिएमा प्रचलित कानुनअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीसमेत अघि बढाइने जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।