भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगार्थ दिल्ली पब्लिक स्कूल, वीरगञ्जका विद्यार्थी तथा कर्मचारीले २ लाख १४ हजार रुपैयाँ सहयोग गरेका छन् ।
विद्यालय परिवारका विद्यार्थी तथा कर्मचारीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रतिनिधिहरूले उक्त रकम जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीमार्फत उद्धार कोषमा हस्तान्तरण गरेका हुन् ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा परिवार प्रभावित भएका छन् । विपद्का कारण प्रभावित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, विद्यालय, निजी क्षेत्र तथा नागरिकस्तरबाट सहयोग जुटाउने क्रम जारी छ ।
यसै क्रममा दिल्ली पब्लिक स्कूल, वीरगञ्ज परिवारले विद्यार्थी तथा कर्मचारीको सहभागितामा रकम संकलन गरी सरकारी राहत कोषमा सहयोग गरेको हो ।
विद्यालयले विपद्का बेला प्रभावित समुदायप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग र मानवीय सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको जनाएको छ ।
विद्यालय परिवारबाट गरिएको यस सहयोगले बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा केही योगदान पुग्ने अपेक्षा गरिएको छ ।