काठमाडौंमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० श्रृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भयो ।नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन जोडिन् ।
नेदरल्याण्ड्सका बलरहरूमध्ये आइरिस विलिङ, क्यारोलिन डिल्याङ र हेदर सिजर्सले २–२ विकेट लिए भने इभा लिन्च र इशावेल वनिङले १–१ विकेट झारे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि बबेट डिलेडले सर्वाधिक ४१ रनको योगदान दिइन्। नेपालका बलर सीता राना मगरले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिइन् ।
यो जितसँगै नेदरल्याण्ड्स ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने नेपाल अझै अंकविहीन छ । सिरिजमा सहभागी अर्को टोली थाइल्यान्डको २ अंक छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग हार बेहोरेको थियो। नेपालले आफ्नो अर्को खेल मंगलवार थाइल्यान्डविरुद्ध खेल्नेछ ।