उपत्यकामा हुने जघन्य अपराध अनुसन्धानको जिम्मेवारी पाएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार बिहान प्रहरी नियन्त्रणमा लिएको छ ।
प्रहरी टोली बिहान करिब ३ बजे जबराको निवासमा पुगेको थियो । त्यतिबेला घरका सदस्यहरू निद्रामा रहेका थिए । प्रहरी पुगेपछि जबरालाई सुरक्षा चुनौती रहेको भन्दै कार्यालयमा जानुपर्ने बताइएको थियो ।
प्रहरीको आग्रहपछि जबरा केही समय अलमलमा परेका थिए । उनले निवासमै थप सुरक्षाकर्मी खटाउन आग्रह गरे पनि प्रहरीले जेनजी लगायत विभिन्न पक्षबाट सुरक्षा चुनौती रहेको भन्दै आफूहरूसँगै जानुपर्ने बताएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै कान्तिपुरले जनाएको छ ।
प्रहरीले कार्यालयमै पुगेर विषयबारे छलफल गर्ने भन्दै जबरालाई निवासबाट लिएर गएको बताइएको छ । परिवारका सदस्यका अनुसार उनलाई लैजाँदा पक्राउ पुर्जी नदिइएको र आफूविरुद्धको आरोपबारे समेत जानकारी गराइएको थिएन ।
जबरालाई कार्यालयमा लगिएको केही घन्टापछि सञ्चारकर्मीले यसबारे प्रहरी अधिकारीसँग प्रश्न गरेका थिए । त्यस क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीहरूले जबराविरुद्ध केही विषयमा उजुरी परेको बताएका छन् । यद्यपि, उजुरीको प्रकृति तथा विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।