लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्सपेक्टरसहित तीन जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरेपछि उनीहरूसँग १० हजार रुपैयाँ लिएर छाडेको सूचना पाएपछि अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा प्रहरी हवल्दार र जवानले मात्र नभई इन्सपेक्टरको समेत मिलेमतोमा रकम लिएको देखिएपछि तीनै जनालाई कार्यक्षेत्रबाट फिर्ता बोलाएर थप अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले बताए ।उनका अनुसार घुसबापत लिएको रकमसमेत फेला परेको छ ।
घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्सपेक्टर समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो ।
घटनाको विस्तृत अनुसन्धानका लागि पर्सा प्रहरीले डीएसपी राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिले अहिले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।अनुसन्धान पूरा भएपछि समितिले तयार पार्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइनेछ ।
त्यसपछि इन्सपेक्टर अधिकारीसहित तीनै जना प्रहरीमाथि थप कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।