लागुऔषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेपछि १० हजार रुपैयाँ लिएर छाडेको आरोपमा पर्साको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा कार्यरत इन्सपेक्टरसहित तीन जना प्रहरीमाथि अनुसन्धान सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरेपछि उनीहरूबाट रकम लिएर छाडिएको सूचना प्राप्त भएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा रकम लेनदेनमा प्रहरी हवल्दार र जवानसँगै इन्सपेक्टरको समेत संलग्नता रहेको देखिएपछि तीनै जनालाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट फिर्ता बोलाएर जिल्ला प्रहरी कार्यालयमा झिकाइएको पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा इन्सपेक्टर समुन्नत अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको हो ।
एसपी भट्टराईका अनुसार आरोपित प्रहरीबाट घुसबापत लिएको भनिएको रकमसमेत बरामद भएको छ। घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान भइरहेको उनले बताए ।
घटनाको विस्तृत छानबिनका लागि जिल्ला प्रहरी कार्यालय पर्साले डीएसपी राजु कार्कीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ। समितिले घटनासँग सम्बन्धित पक्ष तथा प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।
छानबिन समितिले अनुसन्धान पूरा गरेपछि तयार पार्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइनेछ। प्रतिवेदनका आधारमा इन्सपेक्टर अधिकारीसहित तीनै जना प्रहरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग रकम लिएर छाडिएको आरोपमा प्रहरीकै कर्मचारीमाथि अनुसन्धान सुरु भएपछि घटनालाई प्रहरी आचरण र जवाफदेहिताको विषयसँग जोडेर हेरिएको छ। यद्यपि, आरोप पुष्टि हुन बाँकी रहेकाले अन्तिम निष्कर्ष भने छानबिनपछि मात्र आउनेछ ।