वीरगंजमा सामान्य वर्षा हुँदा पनि केही स्थानका सडकमा पानी जम्ने समस्या हुन् थालेको छ। बुधबार परेको हल्का वर्षापछि वीरगंज महानगरपालिका–११ मुर्ली चोक क्षेत्रमा सडकमा पानी जमेको हो।
पानीको उचित निकास नहुँदा वर्षाको पानी सडकमा जम्ने गरेको छ । सामान्य वर्षामै सडकमा पानी जम्दा पैदलयात्री तथा सवारीसाधनको आवतजावतमा समेत समस्या हुने गरेको स्थानीयवासीले बताएका छन्।
स्थानीयका अनुसार नालाको नियमित रूपमा सरसफाइ नहुँदा पानीको निकास सहज हुन सकेको छैन। नाला सफा नगर्दा थोरै वर्षा हुँदा पनि सडकमा पानी जम्ने गरेको उनीहरूले आरोप लगाएका छन्।
वडा अध्यक्षको घर जाने बाटोमै सामान्य वर्षा हुँदा सडकमा पानी जम्नु दुःखद् भएको स्थानीयहरुले बताए। उनीहरुका अनुसार जनप्रतिनिधिको घर जाने बाटोमै यस्तो अवस्था देखिनुले समस्या समाधानमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताएका छन् ।
स्थानीयवासीले वडा कार्यालय तथा महानगरपालिकाले नालाको उचित व्यवस्थापन र नियमित सरसफाइमा ध्यान नदिँदा समस्या बढेको आरोप लगाएका हुन्।
उनीहरूले वर्षायाममा हुने जलजमावको दीर्घकालीन समाधानका लागि नालाको नियमित सरसफाइसँगै पानीको प्रभावकारी निकासको व्यवस्था गर्न वीरगंज महानगरपालिकासँग माग गरेका छन्।