पर्सागढी नगरपालिका–२ बागवन्नामा सोमवार दिउँसो रोकिराखेको बसमा अचानक आगलागी भएको छ । आगलागीका कारण बस पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ना.४ख ३४६५ नम्बरको बस बागवन्नाका बिगानाथ थारूको रहेको खुलेको छ । आगलागीबाट बसको सम्पूर्ण बडी जलेर नष्ट भएको भए पनि चारवटा चक्का भने सुरक्षित रहेका छन् ।
स्थानीयहरूका अनुसार, बागवन्ना–हरपुर–बहुअर्वा–वीरगंज रूटमा सञ्चालन हुने सो बसको भोलि पालो थियो । दैनिक रूपमा पालो अनुसार एउटा बस वीरगंज जाने र अर्को फर्कने व्यवस्था थियो । आज उक्त बसको पालो नभएकोले पार्किङमा राखिएको थियो ।
प्रारम्भिक अनुसन्धानका आधारमा बसमा सर्टसर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । तर, रोकिराखेको बसमा अचानक सर्टसर्किट हुने सम्भावना कम हुने भएकाले यसबारेमा स्थानीयले आशंका व्यक्त गरेका छन् । आगलागीको वास्तविक कारण खुल्न बाँकी रहेको छ ।
मनवा प्रहरी चौकीका इन्चार्ज मनोज यादवका अनुसार स्थानीय बासिन्दा, प्रहरी र सखुवाप्रसौनी गाउँपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।