संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनामाथि सार्वजनिक उजुरी माग गर्ने निर्णय गरेको हो ।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सुनुवाइसम्बन्धी कार्यविधिअनुसार १० दिनको सूचना जारी गरिनेछ। यसका लागि आगामी कात्तिक ९ गते सार्वजनिक माध्यमबाट सूचना प्रकाशन गर्न समिति सचिवालयलाई निर्देशन दिइएको छ ।
केही दिनअघि बसेको न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत अब प्रस्तावित न्यायाधीशहरूविरुद्ध प्राप्त हुने उजुरीका आधारमा समितिले आवश्यक सुनुवाइ तथा छानबिन प्रक्रिया अघि बढाउनेछ ।