सरकारले ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका पाँच जना प्रहरीलाई सोमबार बिहानदेखि फिर्ता बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालयका प्रमुख सचिव भीष्म अधिकारीका अनुसार कार्यालयको सुरक्षामा खटिएका प्रहरी फिर्ता बोलाइएपछि अब सुरक्षाका लागि वैकल्पिक व्यवस्था गरिनेछ ।
अधिकारीले पार्टी कार्यालय सार्वजनिक संस्था भएकाले विगतदेखि नै प्रहरीले सुरक्षा प्रदान गर्दै आएको बताए। उनका अनुसार सोमबार बिहानदेखि कार्यालयमा खटिएका पाँच जना प्रहरीलाई सरकारले फिर्ता बोलाएको हो ।
एमालेको केन्द्रीय कार्यालय बल्खुमा रहँदादेखि नै प्रहरी सुरक्षा उपलब्ध गराइएको थियो। त्यसपछि धुम्बाराही र थापाथलीमा कार्यालय रहँदा पनि प्रहरीले सुरक्षा दिँदै आएको थियो ।
अधिकारीका अनुसार कार्यालयको आवश्यकताअनुसार सुरक्षामा खटाइने प्रहरीको संख्या समय–समयमा थपघट हुँदै आएको थियो । तर, यसपटक एकैपटक पाँच जना प्रहरी फिर्ता बोलाइएपछि पार्टीले कार्यालयको सुरक्षाका लागि वैकल्पिक व्यवस्था गर्ने जनाएको छ ।