नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ ।
विश्व बाथरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा. बुद्धि पौडेलले उक्त तथ्य प्रस्तुत गरेका हुन् ।
नेपाल बाथरोगमैत्री समाजले सोमबार आयोजना गरेको कार्यक्रममा डा. पौडेलले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने बताए । समयमै उपचार नगरे शरीरका जोर्नी बाङ्गिने, कुरूप हुने तथा स्थायी रूपमा कमजोर बन्ने जोखिम रहने उनले जानकारी दिए ।
पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा. केशव सिग्देलले जाडो मौसममा बाथरोगका बिरामीमा दुखाइ बढ्ने बताए । पछिल्ला वर्षमा बाथरोगका बिरामी बढिरहेको उल्लेख गर्दै उनले यसलाई युरिक एसिड वा सामान्य जोर्नी दुखाइको समस्या मात्रै ठानेर बेवास्ता गर्न नहुनेमा जोड दिए ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आह्वानमा हरेक वर्ष अक्टोबर १२ मा विश्व बाथरोग दिवस मनाइन्छ । यस दिवसको उद्देश्य बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु र यसको समयमै पहिचान तथा उपचारको महत्त्वबारे जानकारी गराउनु हो ।
नेपाल बाथरोगमैत्री समाजले आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।
भिडियाे रिपाेर्ट