ओमानका लागि प्रस्तावित नेपाली राजदूत पद्माक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएकी छन् ।
मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्दै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताएकी हुन् ।
उनले नेपाल र ओमानबीचको जनस्तरको सम्बन्ध विस्तार गर्दै दुवै देशको साझा समृद्धिका लागि व्यावहारिक सहकार्य गर्नु आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरिन् ।
नेपाल र ओमानबीच निरन्तर सहकार्य हुँदै आएको श्रम गतिशीलताको क्षेत्रलाई थप सुदृढ बनाउने पनि उनले बताइन् ।
त्यस्तै, ओमानसँग व्यापार तथा लगानी प्रवर्द्धनका लागि रणनीतिक, छनोटमुखी र व्यावसायिक सम्भावनामा आधारित दृष्टिकोण अपनाउनुपर्नेमा उनले जोड दिइन् । यसका लागि सम्भावित साझेदारको पहिचान गर्ने र ओमानी बजार बुझ्न सहजीकरण गर्ने उनको भनाइ छ ।
राणाले स्पष्ट लक्ष्य, संस्थागत जिम्मेवारीप्रतिको सम्मान र मापनयोग्य उपलब्धि हासिल गर्ने प्रतिबद्धतासहित काम गर्ने धारणा राखेकी छन् ।