कुनै बेला सात तलामाथिबाट हाम फालेर एक्सन हिरोका रूपमा चर्चामा आएका अभिनेता निखिल उप्रेती नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए ।
उनको एक्सन शैलीको प्रभाव यति धेरै थियो कि कतिपय बालबालिकाले उनको नक्कल गर्दा चोटपटकसमेत लागेको खबर सार्वजनिक भएका थिए। उनको लोकप्रियता बढ्दै जाँदा ‘निखिल दाइ’ नामकै चलचित्रसमेत निर्माण भयो । एक्सन हिरोका रूपमा स्थापित निखिलको जीवनमा पछि फरक मोड आयो। उनी चलचित्रबाट टाढिएर अध्यात्म, योग विज्ञान र दर्शनका विषयमा बोल्न थाले। टेलिभिजनमा उनको प्रस्तुति र दार्शनिक अभिव्यक्तिले दर्शकलाई आश्चर्यचकित बनायो। धेरैले उनी सांसारिक जीवनबाट टाढिएर सन्यासी बनेको अनुमानसमेत गरे ।
तर, निखिलले चलचित्र क्षेत्रबाट पूर्ण रूपमा बिदा लिएका थिएनन्। लामो समयपछि उनी चलचित्र ‘आचार्य’मार्फत पर्दामा फर्किए। एक्सनप्रधान शैलीमा प्रस्तुत भएको यस चलचित्रले दर्शकमाझ चर्चा बटुल्ने अपेक्षा गरिएको थियो। चलचित्रको शीर्षक ‘आचार्य’ले समेत पूर्वीय दर्शन, गुरु र ज्ञानको भावलाई प्रतिनिधित्व गर्छ ।
चलचित्र प्रदर्शनमा आउँदा एक्सन दृश्य र निखिलको कमब्याकलाई लिएर चर्चा भए पनि त्यसको प्रभाव बक्स अफिसको कमाइमा भने देखिएन। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार ‘आचार्य’ले प्रदर्शनको १० दिनमा जम्मा १ करोड ५६ लाख रुपैयाँ कमाइ गरेको छ। चलचित्रका दृश्यहरू हलभित्रै खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्तिले पनि यसको प्रदर्शनलाई थप चर्चामा ल्यायो। तर, चर्चा र दर्शकको वास्तविक आकर्षणबीचको दूरी बक्स अफिसको नतिजाले स्पष्ट पारेको छ ।
निखिलको कमब्याकलाई लिएर गरिएको अपेक्षा र चलचित्रको व्यावसायिक परिणामबीच ठूलो अन्तर देखिएको छ। एक्सनप्रधान प्रस्तुतिमार्फत दर्शकलाई आकर्षित गर्ने प्रयास गरिए पनि चलचित्रले अपेक्षाअनुसारको सफलता हासिल गर्न सकेन l ‘१२ वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखानलाई सम्झाउने गरी फर्किएका निखिलका लागि ‘आचार्य’को नतिजा सुखद बन्न सकेन। लामो समयपछि चलचित्रमा फर्किएका उनलाई यसपटक बक्स अफिसले साथ दिएन । चलचित्रको कमाइले उनको एक्सन हिरोको पुरानो छवि र अहिलेको दर्शकीय रुचिबीचको दूरीबारे पनि प्रश्न उठाएको छ ।