साउदी अरबको सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएको भन्दै इटालीको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई त्यहाँको सबैखाले यात्रा स्थगित गर्न पुनः आग्रह गरेको छ।
मन्त्रालयले साउदी अरबमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र स्थानीय अधिकारीका निर्देशन पालना गर्न पनि आग्रह गरेको छ।पछिल्ला दिनमा साउदी अरबमा आक्रमणका घटना बढेको विवरण सार्वजनिक भइरहेका बेला इटालीले यस्तो यात्रा चेतावनी जारी गरेको हो।बुधबार बिहान साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको थियो ।
इटालीको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई साउदी अरबको यात्रा नगर्न र त्यहाँका विमानस्थल प्रयोग नगर्न सुझाव दिएको छ। त्यसको विकल्पमा छिमेकी मुलुकका विमानस्थल प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
त्यसैगरी, साउदी अरबभित्र वा त्यहाँबाट अन्य देशमा अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्था आएमा हवाई यातायातको विकल्प अपनाउन यात्रुहरूलाई सुझाव दिइएको छ।
साउदी अरबमा रहेका इटालीका नागरिकलाई सम्भावित आपत्कालीन अवस्थाका लागि तयार रहन, सुरक्षित स्थानमा आश्रय लिन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले सैन्य तथा सुरक्षा निकायका प्रतिष्ठान, ऊर्जा तथा यातायात पूर्वाधार र सैन्य गतिविधिबाट प्रभावित क्षेत्रमा नजान पनि नागरिकलाई सचेत गराएको छ । साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै इटालीले जारी गरेको यो चेतावनीले त्यहाँ रहेका विदेशी नागरिकको सुरक्षा र क्षेत्रीय अवस्थाबारे थप चासो बढाएको छ।