अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेको आरोपमा श्रीलंकाका तीन नागरिक र एक तामिलभाषी भारतीय नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । उनीहरू नेपाल–भारत सीमास्थित निधीपुरुवा क्षेत्रबाट पक्राउ परेका हुन् ।
भारतीय सुरक्षा अधिकारीका अनुसार पक्राउ पर्नेमा श्रीलंकाको जाफ्नाका वि. अजित कुमार, उनकी श्रीमती कौशल्यादेवी र धले बम तथा भारतको तमिलनाडुका सुथागर रहेका छन् । उनीहरूलाई कात्तिक ४ गते पक्राउ गरिएको भए पनि शुक्रबार मात्रै घटनाबारे जानकारी सार्वजनिक गरिएको हो ।
भारतीय सुरक्षा स्रोतका अनुसार चारै जना नेपाल प्रवेश गरेपछि शरणार्थीका रूपमा युरोपका फ्रान्स वा बेलायत जाने तयारीमा थिए । उनीहरू दलालमार्फत नेपाल आउन लागेको सुरक्षा स्रोतको दाबी छ ।
उनीहरू बर्दियासँग सीमा जोडिएको भारतको घना जंगल क्षेत्रनजिकै रहेको निधीपुरुवा हुँदै चित्लहवा नाकाबाट गुलरिया प्रवेश गर्ने प्रयासमा रहेको बताइएको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि भारतीय प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूलाई उत्तर प्रदेश राज्यको बहराइच जिल्लास्थित मुर्तिहा कोतवाली प्रहरी कार्यालयमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले सीमावर्ती भारतीय क्षेत्रमा श्रीलंकाका तीन र एक भारतीय नागरिक पक्राउ परेको जानकारी प्राप्त भएको बताउनुभयो ।
घटनाबारे भारतीय सुरक्षा निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।