अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग सुमधुर सम्बन्ध चाहेको बताउनुभएको हो ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार नेपाल–भारत सम्बन्धबारे आयोजित विशेष सत्रमा वाग्लेले दुई देशबीच बेलाबेला समस्या देखिए पनि भौगोलिक र सामाजिक निकटताले दुवै देशलाई गहिरोसँग जोडेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री शाहले चाँडै भारत भ्रमण गर्ने जानकारीसमेत दिनुभयो ।
वाग्लेले ‘प्रोक्सिमिटी टु प्रोस्पेरिटी : द इन्डिया–नेपाल अपर्चुनिटी’ शीर्षकको सत्रमा सम्बोधन गर्नुभएको थियो । नेपाल र भारतबीचको निकटतालाई आर्थिक समृद्धिको अवसरमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित उक्त सत्रमा उहाँले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे धारणा राख्नुभएको थियो ।
जलवायु क्षतिको पुनर्निर्माणमा ऋण लिनुपर्ने अवस्थामाथि प्रश्न
सम्मेलनमा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनका कारण भएको क्षतिको पुनर्निर्माणका लागि नेपालजस्ता मुलुकले ऋण लिनुपर्ने अवस्थामाथि प्रश्न उठाउनुभयो ।
जलवायु संकट सिर्जना गर्न नेपालको योगदान अत्यन्त न्यून भए पनि त्यसबाट क्षति भएका पूर्वाधार पुनर्निर्माणको आर्थिक भार नेपालमाथि पर्ने गरेको उहाँको भनाइ थियो ।
बाढीले क्षति पुर्याएका पुल, सडक, स्वच्छ ऊर्जा उत्पादन गर्ने जलविद्युत् आयोजना र घर पुनर्निर्माण गर्न नेपालले किन ऋण लिनुपर्ने भन्ने प्रश्न उठाउँदै उहाँले यस विषयलाई अन्तर्राष्ट्रिय छलफलमा प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।
विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा
वाग्लेले नेपालमा भएका ठूला विपद्का बेला भारतले उपलब्ध गराएको तत्कालीन सहयोगको प्रशंसासमेत गर्नुभयो । २०७२ सालको भूकम्पपछि केही घण्टामै भारतीय सहायता काठमाडौं आइपुगेको स्मरण गर्दै उहाँले पछिल्लो बाढीपछि पनि भारतबाट तत्काल सहयोग प्राप्त भएको बताउनुभयो ।
बाढीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई फोन गरेर सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उहाँले सरकारी तहको संवादमा पनि भारतले नेपाललाई आवश्यक सहयोग गर्न तत्परता देखाएको बताउनुभयो । यस्तो सहयोगले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने उहाँको भनाइ थियो ।
जेनजी आन्दोलन र युवा पुस्ताको अपेक्षाबारे पनि चर्चा
अर्थमन्त्री वाग्लेले सम्मेलनमा नेपालको जेनजी आन्दोलन र युवा पुस्ताको राजनीतिक अपेक्षाबारे पनि धारणा राख्नुभयो ।
स्मार्टफोन र सामाजिक सञ्जालसँग हुर्किएको नयाँ पुस्ता यथास्थिति स्वीकार्न तयार नरहेको उल्लेख गर्दै उहाँले डिजिटल प्रविधिले राजनीतिक सहभागिता, सार्वजनिक अपेक्षा र सामाजिक आन्दोलनको स्वरूप परिवर्तन गरिरहेको बताउनुभयो ।
युवा आन्दोलनको प्रभावलाई दीर्घकालीन बनाउन सडकमा व्यक्त भएको असन्तुष्टिलाई लोकतान्त्रिक संस्थासँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । आन्दोलनबाट उठेका मागलाई संस्थागत प्रक्रियामार्फत सम्बोधन गर्नुपर्ने धारणा राख्दै उहाँले नेपालको अनुभवलाई राजनीतिक परिवर्तनको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।
बहुपक्षीय सहकार्यको बदलिँदो स्वरूपबारे पनि छलफल
यसअघि बिहीबार वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकर मुख्य वक्ता रहेको सत्रमा बदलिँदो अन्तर्राष्ट्रिय सहकार्यबारे प्रश्न राख्नुभएको थियो । उहाँले परम्परागत बहुपक्षीय संस्थाको सट्टा समान स्वार्थ भएका देशका साना र लचिला समूहहरूमार्फत सहकार्य गर्ने प्रवृत्ति बढिरहेको हो कि भन्ने प्रश्न गर्नुभएको थियो ।
एनडीटीभीले बिहीबार र शुक्रबार आयोजना गरेको सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्बोधन गर्नुभएको थियो । सोही अवसरमा मोदी र वाग्लेबीच भेटसमेत भएको थियो ।