रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरमा आयोजित कार्यक्रममा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
माधवनारायण नगरपालिकामा स्थापित नेता मानिने लिलाप्रसाद साह तेली गत स्थानीय तह निर्वाचनमा ३,३३२ मतसहित दोस्रो स्थानमा रहेका थिए । उनले मधेसमा राष्ट्रिय दलहरूले पहिचान विरोधी नीति अपनाएको र मधेसवादी दलहरू अवसरवादमा फसेर फुट तथा विभाजनमा लागेको आरोप लगाए । "मधेसको हक, अधिकारको रक्षा माओवादी केन्द्रबाट मात्र सम्भव देखिएकाले हामी यो पार्टीमा समाहित भएका हौं," तेलीले भने ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसका नागरिकहरू माओवादीप्रति आकर्षित भइरहेको दाबी गर्दै मधेसको हक, अधिकार, समानता र समृद्धिका लागि माओवादी नै एकमात्र विकल्प भएको बताए । उनले पार्टी प्रवेश गर्नेहरूलाई माओवादीको सिद्धान्त र विचारधाराका आधारमा अगाडि बढ्न आह्वान गरे ।