बारा र पर्सामा भएका छुट्टाछुट्टै आगलागीका घटनामा उखुबारी र घरमा क्षति पुगेको छ ।
दुवै घटनामा गरी करिब ६ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । बाराको कलैया उपमहानगरपालिका–१९ पचायनपुरस्थित उखुबारीमा आगलागी हुँदा नौ कठ्ठा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । आगलागीबाट करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
आगलागीको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट गंगापुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।
त्यसैगरी, पर्साको पर्सागढी नगरपालिका–६ बागेश्वरी तित्रौनास्थित एक घरमा अचानक आगलागी हुँदा घरमा क्षति पुगेको छ । आगलागीका क्रममा छिमेकीको घरको एउटा कोठासमेत जलेको छ । उक्त घटनामा करिब दुई लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक जानकारी लिएको थियो ।
दुवै आगलागीको कारण तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।