चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले अवैध पटाका तथा विस्फोटक पदार्थ नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।
अभियानअन्तर्गत तीन लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका पटाका बरामद गरी नष्ट गरिएको छ । गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीको नेतृत्व तथा निर्देशनमा सञ्चालन गरिएको अभियानको मुख्य उद्देश्य चाडपर्वका बेला पटाका तथा अन्य विस्फोटक पदार्थको अवैध ओसारपसार, बिक्रीवितरण र प्रयोगबाट हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्नु रहेको छ ।
पटाकाको अनियन्त्रित प्रयोगबाट आगलागी, शारीरिक चोटपटक तथा जनधनको क्षति हुनुका साथै ध्वनि र वायु प्रदूषणसमेत बढ्न सक्ने भएकाले यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमावर्ती जिल्ला पर्सामा अवैध रूपमा भित्रिने तथा कारोबार हुने प्रतिबन्धित सामग्रीमाथि निगरानी बढाउँदै सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सक्रियता देखाएको छ । चाडपर्वका बेला यस्ता सामग्रीको कारोबार तथा प्रयोग बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नियन्त्रण अभियान तीव्र पारिएको हो ।
सशस्त्र प्रहरीले नागरिकलाई प्रतिबन्धित पटाका तथा विस्फोटक पदार्थको अवैध कारोबार र प्रयोग नगर्न आग्रह गरेको छ। त्यस्ता गतिविधिबारे जानकारी पाएमा सम्बन्धित सुरक्षा निकायलाई सूचना दिनसमेत अनुरोध गरिएको छ।
अवैध पटाका नियन्त्रण अभियानलाई निरन्तरता दिँदै सुरक्षा सतर्कता बढाउँदा चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न र सार्वजनिक सुरक्षा कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।