सर्लाहीको मलंगवास्थित हनुमान मन्दिरमा चोरी भएका चाँदीका मुकुट, माला, टीकालगायत सामग्री प्रहरीले बरामद गरेको छ। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज बिहान करिब ३ बजे मलंगवा नगरपालिका–८ स्थित हनुमान मन्दिरमा चोरी भएको सूचना प्राप्त भएको थियो । सूचनापछि घटनास्थलमा खटिएको प्रहरी टोलीले मन्दिर परिसरबाटै दुवै नाबालकलाई नियन्त्रणमा लिएको हो । उनीहरू १८ वर्षभन्दा कम उमेरका भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
मन्दिरका पुजारीले हनुमानजीको मूर्तिमा लगाइएको चाँदीको मुकुट, माला, टीका, मुख तथा अनुहारमा लगाइने चाँदीका गरगहना र दानपेटिकामा रहेको रकम चोरी भएको जानकारी प्रहरीलाई गराएका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा मन्दिरको दक्षिणतर्फ रहेको खाली जग्गामा लुकाएर राखिएको अवस्थामा चोरी भएका सामग्री बरामद गरेको जनाएको छ ।
बरामद सामग्रीमा चाँदीको एक थान मुकुट, एक थान माला, एक थान टीका, एक थान चाँदीको मुख र दुई थान चाँदीका आँखा रहेका छन् ।
त्यस्तै, दानपेटिकाबाट चोरी भएको नेपाली रकममध्ये ५ रुपैयाँका ४५ थान, १० रुपैयाँका ४२ थान, २० रुपैयाँका १२ थान र ५० रुपैयाँको एक थान नोट गरी कुल ९३५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। यसबाहेक नेपाली सिक्का ५२ थान र भारतीय सिक्कासमेत बरामद गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।