रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन टिकुलियाघाट पुलको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक बर्षमा बजेट बिनियोजन भएपछि पूल निर्माणको कामले गति लिएको हो ।
पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटका इन्जिनियर दिपेन्द्रकुमार साहले जानकारी दिनुभयो ।
गौर नगरपालिका –४ स्थित लालबकैया नदीको टिकुलिया घाट पुल भ्याटसहित २७ करोड ६६ लाख ८ हजार १७६ रुपियाँमा निर्माण गर्ने गरी २०८० असोज ९ मा आजाद दिपु एण्ड कम्पनी जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो ।
हाल पुलका मुख्य संरचनासहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भइसकेको इन्जिनियर साहले बताउनुभयो । एप्रोच रोड र रिभर ट्रेनिङको काम भने अझै बाँकी रहेको उहाँले भन्नुभयो ।
उहाँका अनुसार पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ भने बित्तीय प्रगति ५० प्रतिशतको हाराहारीमा पुगेको छ । कार्यालयसँग ८ करोड बजेट रहेको र पूल निर्माणका लागि आबश्यक पर्ने थप बजेट समयमै उपलब्ध भएमा २०८३ चैतसम्म पूल निर्माणको काम सम्पन्न हुने उहाँले बताउनुभयो ।
सो पूल निर्माणका लागि यसअघि पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । २०७१ असार २९ मा पप्पु कन्स्ट्रक्सनले २०७४ असार २५ सम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । तत्कालीन समयमा सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा २२५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान भएको थियो ।
लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेको पप्पु निर्माण सेवाले सम्झौता अबधिभरमा पुल निर्माण कार्य सम्पन्न नगरेर अलपत्र पारेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले २०७९ माघ ०६ गते ठेक्का तोडदै कालोसूचीमा राख्न सिफारिश गरेको थियो ।
ठेकेदारले सम्झौताअनुसार काम नगरेको र पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि बेवास्ता गरेकाले सम्झौताको सर्त बमोजिम २०८० असार १५ मा ठेक्का तोडिएसँगै निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको थियो ।
लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको गौर औरैया जोडने लालबकैया पुलको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुने तथा यातायातमा सहजता आउने अपेक्षा गरिएको छ ।