अब नागरिकताको प्रमाणपत्र हराएका, नष्ट भएका वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने नागरिकले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम यो व्यवस्था लागू गरिएको हो ।
नागरिकताको प्रमाणपत्र आगोले जलेर, पानीले भिजेर नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यस व्यवस्थाबाट सेवा लिन सक्नेछन् ।
गृह मन्त्रालयको मिति २०८३/७/९ को परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकको चापलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई व्यवस्थित गरिएको छ। जसअनुसार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदेशगत रूपमा नागरिकताको प्रतिलिपि वितरण गरिनेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकलाई सेवा प्रदान गर्नेछ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले सेवा पाउनेछन् भने जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकलाई सेवा उपलब्ध गराइनेछ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली तथा केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग हुबहु मिलेमा सहजै प्रतिलिपि जारी गरिनेछ ।
तर, अभिलेखमा रहेको विवरण नमिलेमा, साविकको नागरिकतामा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन चाहेमा अथवा आवेदक प्रथम दृष्टिमै शङ्कास्पद देखिएमा भने साविकमा नागरिकता प्राप्त गरेको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ ।
यस व्यवस्थाले नागरिकताको प्रतिलिपि लिनकै लागि आफ्नो स्थायी ठेगाना भएको जिल्लासम्म पुग्नुपर्ने बाध्यता कम गर्नुका साथै सेवाग्राहीलाई सरकारी सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।