नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलमाला तथा सजावटका सामग्रीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
महानगरपालिकाले स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य सामग्री बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।
काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले सूचना जारी गर्दै प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर मापदण्ड पूरा नगरेका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिएको छ ।
नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाले उचित बजार पाऊन् र उपभोक्तालाई सहज रूपमा खरिद गर्न सुविधा होस् भन्ने उद्देश्यले महानगरले विभिन्न स्थानमा बिक्रीस्थलसमेत तोकेको छ ।
महानगरका अनुसार नयाँ बानेश्वर क्षेत्रमा एनबी सेन्टर, आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरमा स्वदेशी फूल तथा माला बिक्री गर्न सकिनेछ ।
त्यस्तै, चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि बिक्रीस्थल तोकिएको छ । कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीको बुद्ध मल र गुणस्तर खाल्डोमा पनि फूल बिक्री गर्न पाइनेछ ।
यसैगरी, कालिमाटीको कालिमाटी ब्याङ्क्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालयअगाडिको डबली तथा गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पल कारखाना र बालुवाटारको बिग मार्टमा पनि फूल बिक्री गर्न सकिने महानगरले जनाएको छ ।
त्यसैगरी, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई समेत फूल बिक्रीस्थलका रूपमा तोकिएको छ ।
महानगरले तोकेका स्थानबाट स्वदेशी फूल तथा माला खरिद गर्न र प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बिक्री वितरणसम्बन्धी थप जानकारी तथा सहजीकरणका लागि व्यवसायी र सर्वसाधारणले काठमाडौं महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।