त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले खेल क्षेत्रसँगै देशको आर्थिक गतिविधिलाई समेत चलायमान बनाएको छ । प्रतियोगिताका कारण होटल, पर्यटन, रेस्टुरेन्ट, यातायात, खेलकुद सामग्री तथा विज्ञापन बजारमा आर्थिक चहलपहल बढेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा आठ फ्रेन्चाइज टोली, स्वदेशी तथा विदेशी खेलाडी, प्रायोजक संस्था, प्रसारण अधिकार र टिकट बिक्रीलगायतका माध्यमबाट डेढ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार यस संस्करणमा अघिल्ला प्रतियोगिताको तुलनामा आर्थिक कारोबार बढ्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट टिकट बिक्रीमार्फत ११ देखि १२ करोड रुपैयाँ, प्रायोजकबाट २० करोड रुपैयाँ, प्रसारण अधिकारबाट ३४ करोड रुपैयाँ र फ्रेन्चाइज टोलीबाट ७० देखि ७५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
खड्काले विपद् तथा विभिन्न कारणले निराश बनेका नेपालीमा एनपिएलले नयाँ उत्साह जगाउनुका साथै आर्थिक गतिविधि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार प्रतियोगिताबाट प्रत्यक्ष कारोबारबाहेक अन्य क्षेत्रमा पनि अप्रत्यक्ष आर्थिक गतिविधि विस्तार भइरहेको छ ।
आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन समूहको बसोबास र खेल हेर्न आउने दर्शकको आवागमनले होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायमा कारोबार बढाएको छ ।
होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहका अनुसार एनपिएलका कारण साना तथा ठूला दुवै प्रकारका होटलमा चहलपहल बढेको छ । आठवटै फ्रेन्चाइज टोली काठमाडौंका पाँचतारे होटलमा बसिरहेका छन् भने विभिन्न टोलीका समर्थकसमेत खेल हेर्न काठमाडौं आउने गरेका छन् ।
शाहले एनपिएलले शिथिल बनेको होटल व्यवसायलाई चलायमान बनाउन सहयोग गरेको बताए। प्रतियोगिताले होटलको कारोबार बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको खेल पर्यटन प्रवर्द्धन गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
विदेशी खेलाडी तथा टोलीका विशिष्ट सदस्यका लागि महँगा होटलका कोठा बुक भएका छन् । त्यसैगरी स्वदेश तथा विदेशबाट खेल हेर्न आउने दर्शकका कारण काठमाडौंका होटल तथा रेस्टुरेन्टमा ग्राहकको चाप बढेको व्यवसायीहरूको भनाइ छ ।
सुन्धारास्थित एक होटलका सञ्चालक युवराज घर्तीका अनुसार एनपिएल हेर्नकै लागि काठमाडौं आउने दर्शकको संख्या बढ्दा होटल व्यवसायमा सकारात्मक प्रभाव परेको छ ।
त्यस्तै, काठमाडौंका विभिन्न रेस्टुरेन्टले ठूलो पर्दामा खेल हेर्ने व्यवस्था मिलाएका छन्। यसले खेलप्रेमीलाई रेस्टुरेन्टमै भेला भएर खेल हेर्ने अवसर दिनुका साथै व्यवसायको कारोबारसमेत बढाएको छ । बानेश्वरस्थित एवान रेस्टुरेन्टका सञ्चालक सविन केसीले एनपिएल सुरु भएयता रेस्टुरेन्टको कारोबार बढेको बताएका छन् ।
कीर्तिपुरस्थित क्रिकेट मैदान आसपासका स्थानीय व्यवसायीले पनि प्रतियोगिताबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । खेल हेर्न आउने दर्शकको भीडका कारण स्थानीय खाजा पसल, चिया, कफी, पानी तथा अन्य खाद्य सामग्रीको बिक्री बढेको छ ।
पुरस्कार राशिमा पनि वृद्धि
एनपिएलको तेस्रो संस्करणमा सहभागी टोलीका लागि पुरस्कार राशि पनि बढाइएको छ। यस पटक प्रतियोगिताको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
पहिलो संस्करणमा विजेता टोलीका लागि एक करोड रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो। यस पटक पुरस्कार राशि बढाइएसँगै खेलाडीको आकर्षण र प्रतिस्पर्धासमेत थप बढ्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा सहभागी खेलाडीले फ्रेन्चाइज टोलीबाट आकर्षक पारिश्रमिक पाउनुका साथै प्रायोजन तथा अन्य व्यावसायिक अवसरसमेत प्राप्त गर्ने सम्भावना छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त गरेपछि एनपिएलको अन्तर्राष्ट्रिय प्रतिष्ठा र महत्त्वसमेत बढेको छ । तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिएकाले खेललाई थप विश्वसनीय र विवादरहित बनाउन सहयोग पुग्ने क्यानको अपेक्षा छ ।
समग्रमा एनपिएल क्रिकेट प्रतियोगितामा मात्रै सीमित नभई होटल, पर्यटन, यातायात, खाद्य तथा सेवा क्षेत्रसम्म आर्थिक गतिविधि विस्तार गर्ने माध्यम बनेको छ। प्रतियोगिताले खेलकुदको विकाससँगै आन्तरिक पर्यटन प्रवर्द्धन र निजी क्षेत्रको कारोबार बढाउनसमेत योगदान पुर्याउने देखिएको छ ।