वीरगंजमा प्रहरीले अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्दै आएको एक भट्टी नष्ट गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका–१५ भिष्वाडाँडा नजिक सञ्चालनमा रहेको उक्त अवैध मदिरा उत्पादन गर्ने भट्टीमा छापा मारेर नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब साढे ३ बजे मिना मोक्तानले सञ्चालन गर्दै आएको भट्टीमा छापा मारेको थियो ।
छापाका क्रममा प्रहरीले भट्टी फुटाएर त्यहाँ मदिरा उत्पादनका लागि प्रयोग गरिने १ हजार ३०० लिटर कच्चा पदार्थ र ३५० लिटर तयारी घरेलु मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएको कच्चा पदार्थ तथा तयारी घरेलु मदिरालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरी कार्यालयमा ल्याएर नष्ट गरिएको हो ।
अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ ।