वीरगंज महानगरपालिकामा सोलार पोलमा विज्ञापन बोर्ड जडानसम्बन्धी ठेक्कामा बोलपत्र केरमेट भएको विषयले विवाद सिर्जना भएको छ ।
आन्तरिक आय ठेक्का अन्तर्गत भदौ २७ गते महानगरले बोलपत्र आह्वान गरेर सोलार पोलहरूमा विज्ञापन बोर्ड जडानका लागि सूचना सार्वजनिक गरेको थियो । जसमा १८ लाखदेखि ५४ लाखसम्मको ७ वटा ठेक्का कम्पनीले आवेदन दिएका थिए ।
आवेदन दिनेहरूमा पुनम आर्टस्ले पेस गरेको बोलपत्रका मुख्य कागजपत्र केरमेट गरेको भेटिएपछि विवाद सिर्जना भएको हो । बोलपत्रमा केरमेट आवेदनकर्ता स्वयंले गरेका हुन् कि महानगरभित्रका कर्मचारीले मिलेमतोमा भएको हो भन्ने विषयमा प्रश्न उठेको छ ।
पुनम आर्टसले बोलपत्रमा सुरुमा ४५ लाख उल्लेख गरेको छ भने पछि त्यसलाई सच्याएर ५४ लाख बनाइएको छ । तर फारमको तल अक्षरमा भने रकम ‘पैतालिस लाख’ नै उल्लेख छ ।
यस विषयलाई लिएर अन्य आवेदनकर्ताले आपत्ति जनाएका छन् । सुरुमा कम रकम कबोल गरेको र पछि सच्याएर रकम बढाएको विषयले विभिन्न आशंका उब्जाएको छ ।
बोलपत्रमा रकम खुलाउँदा अङ्कमा ४५ लाखलाई केरेर ५४ लाख बनाइए पनि अक्षरमा भने पैतालिस लाख नै उल्लेख भएको पाइएपछि अंकलाई आधार मान्ने कि अक्षरमा लेखिएको रकमलाई आधार मान्ने भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
वीरगंज महानगरले गत भदौ २७ गते आन्तरिक आय शीर्षकबाट कर शुल्क संकलन कार्यको ठेक्का बन्दोबस्त गर्न भन्दै सोलार पोलमा विज्ञापन बोर्ड जडानका लागि गोरखापत्र दैनिकमा ३० दिने सूचना प्रकाशन गरेको थियो । बोलपत्रमा उच्चतम अंकमा सकार गर्ने कम्पनीहरूको ‘सर्टलिस्ट’ कात्तिक १७ गते सार्वजनिक गरिएको थियो ।
सुरुमा ४५ लाख रुपैयाँ कबोल गरेर फारम भरेको पुनम आर्टसको बोलपत्रमा केरमेट गरी ५४ लाख बनाइनुले सोही कम्पनीलाई ठेक्का दिने नियतवस गरिएको गडबडीका रूपमा हेर्न थालिएको छ । यही विषयलाई अन्य प्रतिस्पर्धी आवेदकले महानगरसमक्ष उठाए पनि महानगरले भने खासै चासो दिएको छैन ।
वीरगंज महानगर राजस्व महाशाखाका प्रमुख सुनिल आचार्यले स्वीकृत भएको पहिलो ठेक्काको कागजपत्रमा केरमेट भएको विषय सार्वजनिक रुपमा टेन्डर खोल्दा मुचुल्कामै उल्लेख गरिएको दाबी गरेका छन् । उनले बोलपत्रको अंक र अक्षरमा फरक परेको विषय पनि नौलो नभएको प्रतिक्रिया दिए ।
‘बोलपत्र परीक्षण गर्दा अंक र अक्षरमा केरमेट गरी सहीछाप गरेकोे (मुचुल्कामा समेत उल्लेख भएको) हुँदा वीरगंज महानगरपालिकाको अधिकतम् श्रोत साधन परिचालन गर्ने नीति रहेको हुँदा पुनम आर्डस् वीरगंजको कबोल रकम ५४ लाख सारभुत रुपमा प्रभावग्राही हुँदा निजको बोलपत्र स्वीकृत गर्नका लागि सिफारिस गर्ने निर्णय गरियो,’ मूल्याङ्कन समितिको मुचुल्कामा उल्लेख छ ।
महानगरले ३ वर्षका लागि २३० वटा सोलार पोलमा विज्ञापन बोर्ड राख्न १० लाख ३५ हजार न्यूनतम् रकम रहेको ठेक्का सूचना निकालेको थियो । सो ठेक्कामा महानगर र पुनम आर्टस्बिच सम्झौता हुन भने बाँकी छ ।
सरकारी ठेक्कामा सेटिङ तथा स्वार्थ समूहको चलखेल हुने गरेको विभिन्न घटनाक्रम सार्वजनिक हुँदै आएको र संघ सरकारले हालैमात्र सुनकोशी मरिन डाइभर्सन आयोजनाको ठेक्का रद्द गरेको परिस्थितिमा वीरगंज महानगरपालिकाको ठेक्का प्रकरणमा देखिएको यो विवादप्रति आमचासो बढेको छ । ठेक्का प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन महानगरले भूमिका निर्वाह गर्छ वा उठेका विवादलाई नजरअन्दाज गरेर विभिन्न आशंकाका बिच ठेक्का सम्झौता गर्छ भन्ने हेर्न बाँकी नै छ ।